Wednesday, 21 January 2015

अधुरो सपना

                                                              
                                                                                             



स्थान :त्रिभुवन बिमानस्थलको प्रस्थान लेखिएको कक्ष बाहिर।कतार जाने आरएके एयरको फ्ल्याइट तीनघण्टा डिले भएको कारण समय बिताउने बहनामा नजिकैको क्याफेबाट दुइवटा चिया लिएर छेवैको बेञ्चमा बसे।एक कप पहिलेदेखि नै मेनपावर एजेन्सीमा चिनजान भएको साथी सुदिपलाइ दिए।त्यतीबेला हामी सवै युवाहरुको मुहारमा खुशी र चमक थियो,सपनाको शहरको यात्रामा।तर सुदिपको मुहारमा खुशीको लेपमात्र पनी थिएन।मेरो निकै लामो प्रयास पछि उसले आफ्नो पिडाको गाँठो फुकाउन तयार भयो।त्यतीबेला उसको दुवै परेलीबाट जोडि आँशुको थोपा तप्प चुहिए,चियाको ग्लासमा।म उसको कथा सुन्न निकै उद्देलित भए अनी उ प्रस्तुत भयो आफ्नो पिडाले भरिपुर्ण कहानी लिएर।

          मेरो जन्म एक निम्नमध्यम वर्गिय परिवारमा भएको थियो।म भन्दा जेठि एक दिदि अनी म मुनीको एक बहिनीको लाडप्यारमा मेरो बाल्यकाल बिते।बुवा बाहेक सबैले मलाइ बाबु भनेर बोलाउथे तर बुबाको लागी म सान्दाइ थिए।कहिलेकाहि अचम्म मान्थे बुवाले मलाइ किन सान्दाइ भन्नुभएको होला भनेर,आफैलाइ प्रश्न गर्थे उत्तर पाउदिनथे तेत्तीकै छोडिदिन्थे।मैले सुने अनुसार बुवाले जागिर छोडेर पुर्खौली पेशा ब्यापारमा हात हाल्नुभएको थियो रे।हाम्रो पसल त्यतिबेला वरपरका चार-पाचँ गाविसमा प्रख्यात थियो रे अनी बुवा एक नामुद ब्यापारि।उधारो ब्यापारलाइ लगाम लगाउन नसक्दा हेर्दाहेर्दै बुवाको ब्यापार टाँट पल्टियो रे।हाम्रो पसल पुरै रित्तो भयो अनी पसलकोठामा ताल्चा झुण्डिए मैले अली बुझ्ने हुँदासम्म।पाँच बर्षको म बालक यी सब दृश्य टुलुटुलु हेर्नु सिवाय के नै पो गर्न सक्थे र।हेर्दाहेर्दै एकदिन हामी छिमेकीको घरमा सर्यौ।म अनभिज्ञ थिएँ यो सब के भइरहेको छ भनेर।पछि अली जान्ने भए पछि थाहा भो बुवाले ऋण तिर्नको लागी घर बेच्न विवश हुनुभएछ र हामी छिमेकको घरमा भाडामा बसेका रहेछौं।

       व्यापार चौपट भएपछि आमा र बुवा जतीखेर पनी खेतिको काममा ब्यस्त हुन थाल्नु भो।हामी पनी आमा र बुवालाइ काममा सक्दो सहयोग गर्थ्यौ।तर बुवालाइ मैले काम गरेको कत्ती मन पर्दैन थियो।उहाँ चाहानुहुन्थ्यो म हरबखत किताबमा डुँबु।दिनहरु बित्दै गए,एकदिन हामी हाम्रो खेतछेउको नयाँ घरमा सर्यौ।टिनकोको छानु दुइकोठे घर तर पनी त्यो साँझ हामी निकै खुशी थियौ।हामी भन्दा बुवा निकै खुशी देखिनु हुन्थ्यो जुन कुरो उँहाको मुहारको चमकले प्रष्ट पार्दथ्यो।

         धेरै पटकको प्रयास अनी ताकेता पछि पनी उठ्नुपर्ने उधारो नउठे पछि एकदिन बिहानै बुवाले घरमा भएको खातापाता सब जम्मा पारेर जलाइदिनु भो।म नजिकै बसेर उधारो उठ्नुपर्ने हिसाब भएको खाताको साथमा छोरोलाइ डक्टर बनाउने बुवाको सपना खरानी भएको विवश भएर हेरिरहेँ।ऋणको बोझ कम गर्न खाली गरिएको हाम्रो गोठमा एउटा भैंसि र दुइ बाख्राको पाठि थपिए।दिदि,बहिनी र मलाइ खेल्ने साथी जुर्यो।हामी फुर्सदको समयमा भैंसि अनी बाख्रा चराउन जान्थ्यौ।पढाइमा बहिनी र म चै अब्बल थियौ दिदि चाहि मध्यम हुननुहुन्थ्यो तेसैले बेलाबेलामा बुवाको खप्की भेट्थीन दिदिले।

       मामाघरको एकहप्ताको बसाइ पछि म साँझमा घर फर्किएको थिए।घरमा दिदि सुक्क-सुक्क गर्दै रोइरहेकि थिइन बहिनी र आमाको अनुहार पनी मलिन देखिन्थ्यो।आमा दिदिलाइ फुल्याउदै हुनुहुन्थ्यो।बाहिर आँगनमा बुवा एक तमासले आकाशतिर हेर्दै चुरोटको धुवाँ पुत्पुत्याउदै हुनुहुन्थ्यो।मैले केहि बुझ्नै सकिन घरमा के भइरहेको छ भनेर।घरको त्यतीवेलाको वातावरण प्रती म कुहिरोको काग जस्तै थिएँ।पछि थाहा भो दिदि त फेल भइछिन।म र बहिनी दुवैजना फस्ट भएका रहेछौ।बुवाले हामी दाजु बहिनीलाइ एक पोकै कोकोनटको चकलेट दिनुभो हामीले लुकाएर दिदिलाइ पनी दियौं।अब भने दिदि र म एउटै कक्षामा थियौ।मेरो काँधमा अरु दुइ काम थपिए दिदिलाइ सिकाउनु र बुवालाइ दिदिको पढाइको बारेमा रिपोट दिनुपर्ने।

         दिन हप्ता हुदै समय पनी घर्कदै गयो, हाम्रो एसएलसी परिक्षा आउदैथियो।हामी दिदि भाइ खुब मिहेनत गरेर पढ्न थाल्यौ।दिदिलाई जसरि नि पास हुनुको चिन्ता मलाइ धेरै भन्दा धेरै नम्बर ल्याएर बुवाको मन राख्ने चिन्ता थियो।

        हाम्रो परिक्षा पनी सकियो,आमालाइ काठमाण्डौ जाने इच्छा सुटुक्क जाहेर गरेँ।बेलुका बुवा र आमा धेरै बेरसम्म गुनगुन गर्दैहुनुहुन्थ्यो।त्यसको एकहप्ता साँझ आमाले मेरो हातमा केहि हजार थमाइदिनु भो।त्यसको भोलिपल्टै म साथीसंगै काठमाण्डौ हिँडे।बाटोभरि बुवाको मलिन अनुहार अनी आमा,दिदि बहिनीले बर्ररर आशु झारेर बाइ गरेको दृश्य सम्झीरहे।काठमाण्डौ पुगेर गाँउकै एकजना दाजुकोमा आश्रय लियौ।तिनै दाइको सहयोगले खाद्धन्न होलसेल पसलमा जागिर मिल्यो।जागिर मिलेको दिन म निकै खुशी थिएँ यो खबरले म भन्दा बढि गाँउमा मेरी आमा दिदि अनी बहिनी खुशी भएका थिए।बुवाले चाहिँ कुनै प्रतिकृया जनाउनु भएन रे कारण म प्रष्टै बुझ्थे तर केहि गर्न पनि सक्दिनथे विवश थिएँ।जागिरे भए पछिको पहिलो कमाइ पुरै आमालाइ पठाइदिए म आउँदा खोज्नुभएको ऋण तिर्न।त्यसको केहि महिनामै हाम्रो एसएलसीको रिजल्ट पनी आयो  दिदि सेकेण्ड डिभिजनमा पास भइछिन म राम्रै पर्सेन्टको साथ फस्ट डिभिजनमा पास भएँ।म आँफु पास भएको भन्दा नि दिदि पास भएकोमा औधी खुशी थिए।हामी पास भएको खबर सुनेको रातभर बुवा निदाउन सक्नुभएन रे आमाले फोनमा भन्दै हुनुहुन्थ्यो।

      दिदि गाँउकै क्याम्पसमा पढ्ने भइन मैले एक सरकारी क्याम्पसमा भर्ना लिएँ।किन हो कुन्नी क्याम्पसको पढाइले मेरो मन त्यती खिच्न सकेन।गाँउको तिनै दाइको सहयोग मार्फत बुढानिकण्ठमा प्राबिधिक शिक्षा अन्तर्गत इलेक्ट्रिसिएनको तालिम लिन थाले।तिन महिने तालिम सक्किए लगत्तै पसलको जागिर छोडेर इलेक्ट्रिसियनको जागिर खोज्न थाले।निकैदिनको दौध धुपपछि जागिर भेटियो तर तलब पहिले पसलमा पाउनेभन्दा आधाकम।आफैले आफ्नो मनलाइ सम्झाएँ पहिले काममा निपुर्ण बनौ।आजकाल मेरो हातहरु छिना,हम्मर,प्लायर अनी स्क्रुड्राइभरसंग अभ्यस्त हुन थाले।दसबजेदेखी पाँचबजेसम्मको जागिर अनी साँढेपाँचबजेदेखी साँढेआठसम्मको नाइट कलेज।म जहिलै हतारमा हुन्थे,लाग्थ्यो जिन्दगी नै हतार हतारमा बितिरहेछ।तर पनी कलेजको पहिलो पिरियड कहिल्यै पढ्न भ्याइन।

         करिब छ महिनासम्म पनी तलब नबढाएको कारण पुरानो ठाँउको जागिर छोडेर अन्तै गर्न थाले।तलब पनी पहिलेको भन्दा तेब्बर मिल्यो।यहि कुराले बुवाको मुखमा धेरैपछि चमक अनी खुशी आमाले भेट्नुभो रे त्यो खबरले मेरो गह पुरै भरियो त्यो दिन।तेसपछि डेरा पनी आफुलाइ पायक पर्ने ठाँउमा सारे।
       बिस्तारै घरको समस्याहरु एक-एक गरेर हट्दै गए।अनी बुवाको ऋण पनी घट्दै गयो।बिस्तारै बुवाले छोरोलाइ डाक्टर बनाउन नसकेको पिडा भुल्दै जानुभो।यता म जसोतसो पढाइलाइ निरन्तरता दिदै गएँ।जागिरको साथमा आइएको पढाइलाइ पार लगाउदै लगें।रिजल्ट आयो राम्रै ग्रेडमा पास भइएछ खुशीको कुरो दिदि पनी पास भइछिन।त्यो भन्दा अघी मलाइ पढ्न रहर लागेन,म सुगारटाइ शिक्षापद्धतीको कुनै अस्तीत्व देख्दिनथे बरु इलेक्ट्रिकल क्षेत्रमा ओभरसियर गर्ने धोको जाग्यो तर बिचमा आर्थिक कारण बाधक बनेर देखा पर्यो।जागिर र पढाइ एकैसाथ लान सकिन्नथ्यो र जागिर विनाको मेरो पढाइ असम्भव मात्र होइन महाअसम्भव थियो।निकै गार्होसंग त्यो सपना पनी पुरा गरेरै छाँडे।पढाइबाट बचेको समयमा कामाम पुरै दत्तचित्त हुन्थे।

       गाँउमा दिदिको बिहे तय भएछ हुनेवाला भिनाजु सरकारी जागिरे,बुवाआमाले कुरो काट्नै सक्नुभएन।बुवाको कुरो दिदिले झन काट्न सक्ने कुरै थिएन।आफुसंग भएको अली-अली पैसा लिएर म पनी गाँउ फर्के दिदिको बिहेको लागी।मलाइ दिदिको बिहेखर्चकै चिन्ता थियो कसरि जुटाउने भनेर बुवाले खर्चपर्च सबको ब्यबस्था गरिसक्नुभएको रहेछ।बिहे धुमधामले सकियो अनी केहिदिनको घरको बसाँइ पछि म आफ्नो कर्मथलो फर्किएँ। घरबाट काठमाण्डौ फर्किए लगत्तै मेरो मोबाइलमा नचिनेको नम्बरवाट मिसकल र फोनहरु निकै आउन थाले।फोन रिसिभ गरे उताबाट कुनै आवाज आउदैन थियो न त फोन नेै काटिन्थ्यो।हरबखत आउने यो फोनले म लगभग डिप्रेसने हुन थालेको थिएँ।फोन आउथ्यो रिसिभ गरे आवाज आउदैनथ्यो,फोन गरे रिसिभ हुन्नथ्यो।रिसिभ भए आवाज आउदैनथ्यो।यहि कुराको डिप्रेसनको सिकार मेरो एघारसय मोडेलको नोकिया मोबाइल बन्नु पर्यो।मोबाइलको साथमा सिमको पनी अस्तीत्व समाप्त भो।महिनादिनको मोबाइलफोन बिहीनता पछि निकै मुस्किले सामसुङको सस्तो फोल्डिङवाला सेट अनी पुरानै नम्वरको सिम लिगें।सिम एक्टिभ भए लगत्तै  त्यहि नम्वरबाट फोन आउन थाल्यो।रिसिभ गरेर मज्जाले यती गाली गरिदिए अहिले सम्झदा नी आफैलाइ लाज लाग्छ।फोन उताबाटै काटियो,त्यसपछि त्यो अनाबस्यक फोन आउनेकाम केहिदिनलाइ रोकियो।

         एक साँझ टिभीमा समचार हेर्दै थिए फेरि उहि पुरानै नम्वरबाट फोन आयो।फोन उठाए उतैबाट आवाज आयो 'नमस्ते',अभिवादन फर्काए अनी कुरा गर्न थाले नाम सोधे घर ठेगना सब सोधे।आस्मा,मेरो दिदिको छिमेकि रहिछे दिदिको बिहेमा मलाइ देखेकि रहिछे कसो-कसो भिनाजुको मोवाइलबाट मेरो नम्वर भेटेको रहेछ र मलाइ सताउन थालेकि रहेछ।आस्मासंग फोनमा कुरा भएको दिन नै दिदिलाइ फोन गरे उसको बारेमा सबै बताए दिदिले हरियो सिग्नल दिइन।कुरो भिनाजुसम्म पुग्यो।

       त्यसपछिका दिनमा आस्मासंग दिनहु कुरा हुनथाल्यो,उनले फोनबाटै प्रेम प्रस्ताव राखिन् म अलमलमा परे सोचेर उत्तर दिन्छु भनेर टारिदिए तर पनी हाम्रो दिनहु कुरा हुने क्रम रोकिएन बरु झन बढ्न थाल्यो।उनीसंग पहिलोपल्ट फोनमा बोलेको लगभग दुइमहिना पछि लागें दिदिको घरतिर बहना त उनलाइ भेट्नु थियो।

       धनी अनी सम्भ्रान्त परिवारको उनी पातली अग्ली काली।उनलाइ मेरो आँखाले दिलमा राख्नै मानेन न त मेरो मनले नै स्वीकार्यो।उनीसंगको औपचारिक भेटघाट पश्चात भोलीपल्टै काठमाण्डु फर्किएँ अनेक बहाना बनाएर।भोलीपल्टबाट उनको फोन आउने क्रम आकाशियो हरबखत हरक्षण।एसएलसी पछि उनी काठमाण्डौ पढ्न चाहन्थिन तर उनको परिवारले मानेन उनी उतै सदरमुकाममा पढ्न थालिन जहाँ उनको बुवाको जागिर थियो।

        एसएलसीमा बहिनीको नम्बर राम्रो आएको कारण बहिनीलाइ काठमाण्डौ ल्याए नर्सिंग पढाउन चाहन्थे बहिनीले मानिनन्।उसको सपना कलेजको प्रोफेसर बन्नु थियो।बहिनीलाइ उसैको इच्छा बमोजिम राम्रै प्राइभेट कलेजमा भर्ना गरिदिएँ।उ म्याथ लिएर एजुकेसन पढ्न थाली।समय बित्दै गए आस्मासंगको मेरो भेटघाट बाक्लिदै गयो।आजभोली म उनलाइ साच्चिकै मन पराउन थालिसकेको थिएँ।एक्कासि एकसाँझ उनले बिहेको प्रस्ताव राखिन र घरमा आफुलाइ अन्तैबाट बिहेको प्रस्ताव आएको कुरो गरिन।मनमा उनलाइ गुमाउन पर्ने पिडा साथमा अठार पनी नकटेकि किशोरिको बिहे प्रतीको इच्छा।कुनै निर्णयमा पुग्न सकिन।आवेसमा भनिदिए मेरो खुशी भन्दा तिम्रो घरपरिवारको खुशी ठुलो कुरो हो।तिम्रो घरपरिवारको अगाडि म त केहि होइन मलाइ बिर्सिदेउ।फोन काटियो उतैबाट अनी यता मेरो मोबाइलबाट सिम अलग भो।
        दमको पुरानो रोगी आमालाइ पाठेघरको समस्याले च्याप्यो।भरतपुर क्यान्सर हस्पीटल लगियो।उहाँको अप्रेसन भो डक्टरले पाठेघर निकालेर फालीदिए।केहिदिनपछि आमा तंग्रिनुभो अनी घर लिएर गइयो।उता आस्माको जिद्दिको कारण उनको बिहे टर्यो रे त्यो खबरले मलाइ निकै खुशी तुल्यायो।हाम्रो भेटघाट पुन: बाक्लीन थाल्यो।बहिनीलाइ आस्मासंगको मेरो सम्बन्ध कत्ती मन परदैनथ्यो।उसले हाम्रो सम्बन्ध टुटाउन अनेक टिकडम खेलि तर सफल भएको थिएन।यहि निहुलाइ लिएर दिदि र बहिनी बिच बोलचाल पुरै बन्द भैसकेको थियो।बहिनीले बार्ह कक्षा निकै राम्रो नम्वर ल्याएर पास गरि अब उ आरआर पढ्न चाहान्थी।उसको इच्छा पुरा गरिदिए।

       उता आमालाइ दमको रोगले झन च्याप्न थाल्यो।हप्तामा एक चोटि अक्सीजन दिनुपर्थ्यो।औषधिको मात्रा दिनदिनै बढ्दै गइरहेको थियो।एकसाँझ गाँउबाट  भिनाजुको फोन आयो आमालाइ एम्वुलेन्समा राखेर सदरमुकाम ल्याएका छौ भोली काठमाण्डौ ल्याउछौ चिन्ता नलिनु।त्यसको केहि बेरमै आस्माको फोन आयो,उठाए "एक घण्टादेखी कोसंग बिजी?को हो? कहाँकि हो त्यो?प्रश्नमाथी प्रश्नको झटारो।उसलाइ सब कुरा सम्झाए,उताबाट आवाज आयो यो पाली घरबाट बिहे पक्का गरिदिने भनेका छन्।अब बहना बनाउने मसंग कुनै उपाय छैन भोली नै घरमा मलाइ माग्न आउनुस"।गरुङ्गो मन लिएर"हुन्छ" भनेर फोन राखिदिए।दशा भन्ने कुरा  बाजा बजाएर आउदैन भन्थ्यो हो रहेछ।आमाको स्वास्थ्यको त्यो हालत छ अनी आस्माको त्यो कुराले रातभरी निदाउन सकिन।बिहानै चारबजे भिनाजुको फोन आयो "ल दाजुबहिनी दुवै त्यहाबाट आइहाल आमाको स्थीती सिरीयस छ रे।डक्टरको भनाइ अनुसार बाच्ने सम्भावना कम छ रे"।आकाश खसेजस्तो भो।एकछिनमै दाजुबहिनी तयार भयौ अनी घरबेटिलाइ जानकारि गराएर बसपार्क लागीयो।एघारबजे गोर्खा पुग्दा आमाले नौबजे नै संसार छोडिसक्नुभएछ।आमाको मृत शरिर देख्निबित्तिकै बहिनी बेहोस भइ।मैले आफुलाइ जसोतसो सम्हाले।बुवाको अनुहार पानी पर्न लागेको आकाश भन्दा अध्यारो थियो।मलाइ देख्नेबित्तीकै पिल्ल आशु झार्नु भो आफैलाइ रोक्न सकिन रुवाबासि चल्यो एक छिन।बुवा र बहिनीलाइ लिएर दिदि घर फर्कीयो,हामी आमाको शब लिएर घाटतिर लाग्यौ।
     
       आमाको तेर्हदिनको काजकृया सकिएपछि दिदिभिनाजु आफ्नै घर फर्कनु भो।हामीले एक-दुइ महिना घरमै बस्ने निर्णय गर्यौ।हरेक दिन बुवा मलाइ हेरर पिल्ल रुनुहुन्थ्यो अनी घरमा रुवाबासी चल्थ्यो।आमा बित्नुभएको नी एकमहिना बितिसकेको थियो।उता आस्माको बिहे तय भैसकेको थियो।अन्तीमपटक भेट्ने उनकै इच्छा बमोजिम म दिदिको घर गएँ।दिदि मार्फत उनको हुनेवाला श्रीमानको नाम थाहा पाएँ म खङग्रंङै भए।केटो धनी परिवारको थियो तर कुलत र दुर्व्यसनमा फसेको थियो।उसलाइ म राम्रैसंग चिन्थे यहि कुरो आस्मालाइ भेटमा बताए।राम्रोसंग कुरा हुन नपाउदै उनी बिच्केर गइन्।मलाइ निकै नमज्जा लाग्यो उनीसंगको बिछोडले भन्दा पनी कहालीलाग्दो दुनियाँमा आखा चिम्लेर हामफाल्न उत्साहित उनलाइ देखेर।भिरबाट हाम फाल्न खोज्ने गाइलाइ रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न भनेझै जती प्रयास गर्दा नि मेरो केहि उपाय लागेन।म भोलीपल्टै घर फर्किएँ।

        आमाको देहवसानको पिडा,आस्मासंगको प्रेम बिछोड अंनी थपिएको ऋणको भार।मुक्तिको एउटै बाटो देखे वैदेशिक रोजगार।मेरो योजना त्यहि रात नै बुवालाइ सुनाए बुवाले अनुमती दिनुभएन।दिदिभिनाजु बहिनीलगायत सबै मेरो योजनाको बिरुद्धमा थिए।कसैको कुरा नसुनी सदरमुकाम गएर पासपोर्ट बनाएँ उतैबाट काठमाण्डौ हान्नीए।गाउको एकजना दाइ मार्फत एउटा एजेन्सीमा पासपोर्ट बुझाएँ अनी आफ्नो काममा निरन्तरता दिएँ।कतारबाट एउटा कम्पनीबाट डिमाण्ड आएको रहेछ अन्तर्वार्ता दिए सेलेक्ट पनी भए तलब राम्रै थियो म निकै खुशी थिएँ।तर त्यो मेरो खुशीको कुरा कसैलाइ बताउन सक्दिनथे।त्यो रात खाना खाने मुड नी चलेन रातभरी आमाको याद आइरह्यो।राती दिदिलाइ फोन गरे दिदिभाइ निकैबेरसम्म रोइरह्यौ।बिहानै घरबाट बहिनीको फोन आयो दिदिले म विदेश जान लागेको खबर दिइसकेकि रहेछ।एकाबिहानै रुवाबासि चल्यो दाजुबहिनीबिच।

        त्यसको भोलीपल्ट नै म सिधै घर लागे जाने खर्चपर्चको ब्यबस्था गर्नु थियो।बुवा र भिनाजु दुबैजना मसंग रिसाएका थिए बोलचाल नै बन्द भो।एजेन्सीबाट भिषा आयो तुरुन्त आउनु भनेर फोन आयो।यता खर्च अझै जुटिसकेको थिएन।बहिनीमार्फत बुवाले हातमा पैसा ठमाइदिनु भो बिहानै बिदावारि भएर दाजुबहिनी काठमाण्डौ हिड्यौ।बुवालाइ जती कर गरे नि मान्नु भएन आउन।बुवाको ढिपी एक्लै भएनी गाँउमा बस्ने अनी पढाइ बिचमा छोडेर बहिनी गाँउमा नबस्ने।काठमाण्डौ आएको भोलीपल्ट एजेन्सीमा पैसा बुझाए।फ्लाइट त्यसको पर्सिपल्ट फिक्स भो।भोलीपल्ट दाजुबहिनी पुरैदिन किनमेलमा ब्यस्त भइयो बेलुका सबै सामान मिलाएर प्याक गरियो।बहिनीले झिसमिसेमै उठेर सबै तयारी गरिसकेकि रहेछ।उठेर नुहाइधुवाइ गरेर खाजा खाएर म निस्कन तयार भए।बहिनी पनी साथमा जान्छु भन्दै ढिपी कस्दै थिइन मैले मानिन।कोठाबाट सिधै एरपोर्ट गएँ एजेन्सीको मान्छे अरु साथिहरुको साथमा एयरपोर्टको गेटनेर मेरो पर्खाइमा थिए।सबैजना जम्मा भए पछी एजेन्सी प्रमुखले हामीलाइ सबै जानकारीहरु सुनाए।सबैलाइ आ-आफ्नो कागजात थमाएर उनि फर्किए।हामी एयरपोर्टतिर अघि बढ्यौ।
       "बादल टाइम भो हिड जाम" अर्को एकजना साथिको यो आवाजले म झस्किए।हाम्रो  चिया उस्तै रहेछ तर चिसो।कती छिटो उसले मेरो तेत्रो पहाडजस्तो अतीतलाइ मेरो सामु प्रस्तुत गर्न भ्याइसकेछ।उसको कहालीलाग्दो विगतप्रति सहानुभुती राख्दै चियालाइ नजिकैको डस्टबिनमा फ्याकेँ।"नआत्तीउ सुदिप अबको तिम्रो दिन स्वर्णिम हुनेछ"उसलाइ ढाडस दिएँ।जाम अब समय भयो फेरी ढिला होला।हामी आ-आफ्ना झोलाहरु बोकेर लाग्यौ हामी सबैको सपना अनी कल्पनाको त्यो कर्मभुमीतिर।


         संयोगले सुदिप र म एउटै क्याम्प अनी एउटै साइटमा पर्यौ।म उसलाइ हरसमय प्रोत्साहन दिने गर्छु।उ मसंग अती नै मिल्छ।हामी एक-अर्काको हरेक भावना साटासाट गर्छौ।हरेक दुख:सुखमा एकअर्कालाइ साथ दिन्छौ।उसको हरेक आँशुमा म पनी बहन्छु अनी खुशीमा उत्तीकै रमाउछु।समयले कोल्टो फेर्‍यो अहिले उसको बुवा लगायत दिदिभिनाजु अनी बहिनी सबैजना खुशी छन् उसंग।त्यसैले त आजभोली उसको मुहारमा हरपल,हरक्षण चमक देखापर्छ।कहिलेकाहि आस्मालाइ सम्झन्छ अनी म कुराको बिषयबस्तु अन्तै मोडिदिन्छु।उ कुरा बुझ्छ अनी हाँस्न थाल्छ पागलसरी।अहिले मैले उसले नेपालबाट यता आउने बेलामा त्रिभुवन एयरपोर्टमा सुनाएको उसको जीवनकथा ब्लगमा उतार्दा उ पल्लो बेडबाट मुस्कुराइरहेको छ।घरी मलाइ हेर्दै घरी मेरो ल्यापटपमा र किवोर्डमा बराबर आखा लगाउदै।.......इतिश्री.....।   
बादल श्रेष्ठ
 गोरखा

No comments:

Post a Comment